कीर्तिपुरमा कारमा लाग्यो आगो, चालकको मृत्यु


काठमाडौं — राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।

उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल समेत पुगेको थियो।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया