

टेस्लाको ३ महिनाको मुनाफा ४ खर्ब रुपैयाँ

काठमाडौं – विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले तीन अर्ब ३० करोड (४ खर्ब रुपैयाँ भन्दा धेरै) मुनाफा कमाउन सफल भएको छ ।
टेस्लाले अहिले मागको ६८ प्रतिशत मात्र कार उत्पादन गर्न भ्याइरहेको छ । कोभिड महामारीलगायतले सिर्जना गरेको आपूर्ति प्रणालीको अड्चनका कारण पनि माग अनुसारको उत्पादन तथा आपूर्तिमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।
चीनको सांघाइमा रहेको टेस्ला कम्पनीको कार उत्पादन कारखाना कोभिड १९ को कारण बन्द गरिएको थियो । यो महिनाबाट कारखाना खुल्ला भएसँगै सबै श्रमिकहरुलाई कारखानाभित्रै सुत्ने र बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।
टेस्लाले पछिल्ला दिनमा जर्मनी तथा अमेरिकाको टेक्सासलगायतका ठाउँमा नयाँ कारखाना स्थापना गरी आफ्नो उत्पादन तथा आपूर्ति विस्तार गरिरहेको छ ।
सन् २०२२ को पहिलो त्रैमासिकमा टेस्लाले तीन लाख १० हजार वटा कार ग्राहकसम्म पुर्याएको छ । कम्पनीका सीईओ एलन मस्कका अनुसार सन् २०२१ को तुलनामा यो वर्ष कारको उत्पादन समग्रमा ६० प्रतिशतले बढाइनेछ ।

