

नेप्से सूचक ३६ अंकले घट्यो, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडाैँ- बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३६ अंक माथिको गिरावट आएको छ । आज नेप्से ३६.७३ अंकले घट्दै २३२० अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
बुधवार २२८ कम्पनीको ३५ लाख कित्ता शेयरको ३२ लाख पटक कारोबार भएको छ । यसबाट कूल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ ११, ब्यापार १५, होटल तथा पर्यटन ६८, विकास बैंक १०६, जलविद्युत ५५, फाइनान्स ६६, निर्जीबन बीमा १६९, उत्पादन ८२, अन्य ५५, लघुवित्त ७३ र जीवन बीमा २४६ अंकले घटे । जल्पा लघुवित्त र ग्रीन भेन्चरको मूल्य करिब १० प्रतिशतले बढ्यो । नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत नै घट्यो ।
बुधवार गुमाउनेमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधवार हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८१ प्रतिशतदेखि ६.२९ प्रतिशतसम्म गुमाएका छन् ।
बुधवार सबैभन्दा बढी नेस्डो लघुवित्त वित्तीय संस्थाको १४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । बुधवार संस्थाको शेयर ४६७५ पटक कारोबार भएको छ ।

