एआईजीद्वय पोखरेल र थापालाई आईजी बन्न ‘सकस’, सिंह र धानुकलाई बालुवाटारबाट ‘ग्रीन सिग्लन’ !


काठमाडौं – नेतृत्व परिवर्तनका समयमा सधैंजसो नै चर्चामा आइरहने संगठन हो, नेपाल प्रहरी । अपराध अनुसन्धान र नियन्त्रण मात्र होइन, कानून कार्यान्वयन र आन्तरिक सुरक्षा व्यवस्थापनको कार्यमा प्रत्यक्ष संलग्न हुने भएका कारण प्रहरी संगठनको नेतृत्व चयनप्रति आम सर्वसाधारणको पनि चासो रहने गर्छ।

प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) बमोजिम अहिलेका महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्री आगामी १९ वैशाखबाट अनिवार्य अवकाशमा जाँदैछन्।

प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) मा ३० वर्ष सेवा अवधि (नोकरी गरेको ३० वर्ष) पूरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ।

उक्त व्यवस्थाअनुसार आईजी क्षेत्रीकै ब्याचीहरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु हरि पाल, निरज शाही र प्रधुम्न कार्की पनि अनिवार्य अवकाशमा जाँदैछन्।

हालका आईजीको पदावधि १५ दिन मात्रै बाँकी छ। त्यसपछिको भावी आईजीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धामा छन्। उनीहरु चारैैजना हालका आईजी क्षेत्रीका वैकल्पिक टोली हुन्।

उनीहरु चारैजना एआईजीको दरबन्दी बढाएर बढुवा भएका प्रहरी अधिकृत हुन्। सबैभन्दा पहिले पोखरेल, त्यसपछि थापा एआईजीमा बढुवा हुन्। पछिल्लोपटक सिंह र धानुक बढुवा भएका हुन्।

यसअघि तीन एआईजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा दरबन्दी बढाएर पोखरेललाई बढुवा गरिएको थियो। पोखरेल आईजीका लागि एकमात्र पात्र मानिएका थिए।

तर, ओलीकै पालामा एआईजीको अर्को दरबन्दी सिर्जना गरी थापालाई बढुवा गरिएको थियो। पोखरेल र थापाबीच आईजीको प्रतिष्पर्धा हुने देखिएको थियो। त्यसो हुन सकेन।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीनवटा एआईजीको दरबन्दी थपेर सिंह, धानुकका अलावा आईजी क्षेत्रीका ब्याची वसन्त पन्तलाई बढुवा गरियो। त्यसपछि सिंह र धानुक पनि प्रतिष्पर्धामा देखिएका हुन्।

 

पोखरेल र थापालाई आईजी बन्न चुनौती

सरकारले चार एआईजीमध्येबाट एक जनालाई आईजी नियुक्त गर्नुपर्ने हुन्छ। बरियतामा पहिलो नम्बरमा रहेकाले पोखरेलको सम्भावना बढी देखिएको छ। तर, उनलाई नेकपा एमालेको ट्याग लागेको छ।

पोखरेलले नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री हुँदा बढुवामा छलाङ मारेका थिए। एमाले नेतृत्वको सरकार हुँदा बढुवा र आकर्षक ठाउँमा सरुवा पाएको कारण पोखरेललाई वर्तमान सरकारले विश्वास नगर्न सक्छ। जसको फाइदा दोस्रो वा तेस्रो व्यक्तिलाई पुग्न सक्छ।

प्रहरी बढुवासम्बन्धी नियमावलीमा वरिष्ठतासँगै कार्यक्षमता उल्लेख छ। वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमताका आधारमा पनि बढुवा गरिएको विगतको अभ्यास पनि छ। यसकारण पनि आईजी बन्न पोखरेललाई चुनौती बढेको छ।

त्यस्तै नेपाल प्रहरीमा सालिन प्रहरी अधिकृतका रुपमा परिचित थापा आफ्नो ब्याचमा प्रहरी उपरीक्षक (एसपी) हुँदा पछि परेका थिए। तर, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा संगठनका लागि राम्रो काम गर्दै उनी अगाडि बढेका थिए । अपराध अनुसन्धान महाशाखामा रहेर चर्चामा आउने कार्यहरु गरेका थिए। उनले काभ्रे र चितवनमा उत्कृष्ट काम गरेका थिए ।

त्यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी) हुँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा उत्कृष्ट काम गरेका थापालाई तत्कालिन सरकारले दरबन्दी थप गर्दै एआईजीमा बढुवा गरेको थियो । उनी पनि आईजीको दौडमा सक्रिय देखिएका छन्। तर, उनलाई समेत सिंह र धानुकको बढुवाले थप चुनौती थपेको छ ।

 

सिंह र धानुकलाई बालुवाटारको ग्रिन सिग्नल

प्रधानमन्त्री शेरबहादुर देउवाले सिंह र धानुकलाई एआईजीको दरबन्दी बढाएर बढुवा गराउनुले आईजी नियुक्त पेचिलो बन्ने देखिएको छ। स्रोतका अनुसार सिंह र धानुकले बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको चर्चा पनि चलेको छ।

सरकारले सिंहलाई आईजी नियुक्त गर्दा विवादमा आएको अवस्थामा धानुकलाई अगाडि बढाउने तयारी भइरहेको स्रोत बताउँछ। विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए। सोही अवस्था आउनसक्ने धेरैको बुझाइ छ।

सुदूरपश्चिमको बझाङ स्थायी घर हुनु, ओली प्रधानमन्त्री हुँदा पेलाईमा पर्नु र देउवाको कार्यकालमा महत्वपूर्ण अवसर र बढुवा पनि पाउनुले सिंहको आईजी बन्ने सम्भावना बलियो बन्दै गएको छ।

वरियतामा तीन नम्बरमा रहेपनि सिंहले हालै राष्ट्रपतिबाट पदक प्राप्त गरेबाट कार्यक्षमता मूल्यांकनमा छलाङ मार्न सक्ने बुझिएको छ । अब हुने आईजीले चुनावमा पनि प्रहरीको कमाण्ड गर्ने हुँदा देउवाले निकै चासो लिएको बुझिएको छ।

त्यसैले सरकारले सबैभन्दा अगाडि सिंहलाई सारेको छ। बरियतामा तेस्रो रहेपनि दौडमा अगाडि देखिन थालेका उनलाई पोखरेल र थापाले उछिन्ने गरी राजनीतिक नेतृत्वलाई रिझाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया