

शेयर बजार राताम्मे: २४ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घट्यो

काठमाडौं – साताको पहिलो दिन आइतवार शेयर बजारमा झण्डै ३० अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २९.६० अंकले घट्दै २ हजार ३८५.६४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ५.१२ अंकले घट्दै ४५०.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार, आइतवार कुल २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यस दिन २४ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर देखिएको छ । बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक ६६, जलविद्युत ६०, फाइनान्स ४२, निर्जीबन बीमा १२०, उत्पादन ८८, अन्य ३४, माइक्रोफाइनान्स ४४ र जीवन बीमा उपसमूह २०० अंकले घटे ।
यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्तको ४ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत घट्यो । इमर्जिङ नेपालको ७.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा आइतवार नेपाल टेलिकमको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

