स्थानीय निर्वाचन संशय उत्पन्न गराउने अभिव्यक्ति नदिनू : आयोग


काठमाडाैं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे संशय उत्पन्न गराउने अभिव्यक्ति नदिन सरोकारवालाहरुलाई आग्रह गरेको छ। आयोगले आज (बिहीबार) गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारी तीव्रता काम भइरहेकाे र अन्तिम चरणमा पुगेको बताए।

‘राजनीतिक दलका जिम्मेवार नेता-कार्यकर्ताबाट स्थानीय निर्वाचन सर्न सक्ने भन्दै आएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रवक्ता पौडेलले भने। उनले आचारसंहिता उल्लंंघनबारे बाहिर आएका विषयलाई आयोगले नोटिस गरेको र तीमध्ये कतिपयलाई आयोगले पत्राचार पनि गरिसकेको र कतिपयका बारेमा अध्ययन भइरहेको जानकारी दिए।

‘त्यसबारे बुझ्ने, स्पष्टता खोज्ने काम भइरहेकाे छ, त्यसपछि आवश्यक कारबाही आयोगले गर्छ,’ उनले भने, ‘निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्छ र सोही दलका उम्मेदवार रेकर्डमा रहन्छन्।’ त्यसैगरी स्थानीय निर्वाचनका लागि ३९ जिल्लाको मतपत्र छापिएको आयोगले जनाएको छ। आयोगका अनुसार ७० लाख ३३ हजार मतपत्र छापिइसकेको छ।

‘आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ थान छपाइ भइसकेको छ,’ प्रवक्ता पौडेलले भने। दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको उनकाे भनाइ थियाे।

पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत लगाएतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए। उनले जुन पार्टीको चुनाव चिन्हबाट टिकट पाउने हो, सो उम्मेद्वार सोहि दलको हुने मान्यता आयोगले राख्ने बताए। त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन इ-बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया