३० अंकले घट्यो शेयर बजार, कारोबार रकम १ अर्ब ४६ करोडमा सिमित


काठमाडौं –  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंकमा  झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेको छ ।

दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ । कुल १९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो, ४ को स्थिर रहृयो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ ८, विकास बैंक ५५, फाइनान्स ३०, होटल तथा पर्यटन २३, जलविद्युत ३९, लगानी १, जीवन बीमा २१६, उत्पादन ४९, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७४, अन्य ६४ र ब्यापार उपसमूह २८ अंकले घटे ।

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो ।

यस दिन जलविद्युततर्फका लगानीकर्ताले सर्वाधिक धेरै गुमाएका छन् । युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आइतवार सर्वाधिक बढी ५.०२ प्रतिशतले घटेको छ । यस्तै सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ५.०१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतवार सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सर्वाधिक बढी ९ करोड ७२ लाख ५१ हजार २ सय ६९ रुपैयाँमा कारोबार भएको छ । यस्तै सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ५ करोड १ लाख २९ हजार १७५ रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया