चैतमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने


काठमाडौं – वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर नबढाउने निर्णय गरेका छन् । बजारमा तरलताको संकट सहज नभए पनि वाणिज्य बैंकहरुले चैत्र महिनाको लागि निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । गएको मंसिरदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गर्दै ब्याजदर १०.०५ प्रतिशत कायम गरेको बैंकर्स संघले फागुनका लागि प्रकाशित हुने ब्याजदर भने अन्तिम समयमा आएर बढाउने निर्णय गरेको थियो ।

तर, चैतमा भने माघमा कायम रहेको ११.०३ प्रतिशत ब्याजदरलाई नै यथावत् राख्ने बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर तोक्दा संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत र नवीकरणमा अधिकतम १०.१३ प्रतिशत दिन पाउनेछन् । नेपाल राष्ट्र बैंकले बचतको न्यूनतम ब्याजदर र मुद्दती निक्षेपको अधिकतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत तोकेकोले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा ६.०३ प्रतिशत न्यूनतम ब्याजदर दिनुपर्ने हुन्छ ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले सहमति गरेका हुन् ।

रेमिट्यान्स निक्षेपको हकमा भने बचत र मुद्दतीमा प्रकाशित ब्याजदरमा १ प्रतिशत थप अथवा १२.०३ प्रतिशत ब्याजदर पुग्नेछ । यता, कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतसम्म ब्याजदर दिन पाइनेछ । वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावत् राख्दा विकास बैंक र वित्त कम्पनीले पनि यथावत् राख्नेछन् ।

वित्तीय प्रणालीमा तरलताको संकट लम्बिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले यो आर्थिक वर्षमा सात खर्ब रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । यो गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूले लिएको एसएलएफ सुविधाको तुलनामा १२ गुणा बढी हो । गत आर्थिक वर्षमा जम्मा तीन खर्ब ७० अर्ब ३४ करोड रुपैयाँ मात्रै एसएलएफ लिएका थिए ।

 

प्रतिक्रिया