

सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न, चुक्ता पूँजी साढे ९ अर्ब ५५ करोड

काठमाडाैं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा बैंकको एघारौं वार्षिकोत्सव सम्पन्न भएको हो । एघारौं वार्षिकोत्सवका अवसरमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सम्बोधन गरेका थिए ।
उनले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गरे । यस्तै बैंकले आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने बताए ।
एघार वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बताए । उनले बैकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई शेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त समारोहमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । उनले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्नु भएका सबैलाई सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए ।
एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, संचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइ, लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

