प्रहरीद्वय विक र साउद हत्याका मुख्य आरोपी राना पक्राउ


कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्‍न मुख्य अभियुक्त पक्राउ गरेको छ ।

असई र जवानद्वयको ड्युटीको समयमा हत्या गरिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका १०, चकमलीका करिब ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना छन् । उनलाई कैलालीको फुलबारीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।

असई विक र जवान साउँदको तस्कर समूहले हत्या गरेको खुलेको थियो थियो ।

असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो ।

हत्यामा संलग्‍न ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसके पनि मुख्य योजनाकार राना भने फरार थिए । राना तस्करी समुहका बादशाह रहेको खुलेको छ ।

प्रतिक्रिया