

७० कटेपछि रमाउँदै
राजनीति गर्दै प्रतिनिधि सभा सदस्य हुने यी नेताहरू

काठमाडौं – कालिप्रसाद बास्कोटा र हिमाल साउदको शब्द र हेमन्त रानाको स्वरमा सजिएको ‘परदेशबाट फर्कि आउँला, ४० कटेपछि रमाउँला…’गीत नेपाली समाजमा निकै लोकप्रीय रह्यो । जुन गीतले बहुसंख्यक नेपाली युवा रोजगारीका लागि विदेशिने र आधा जोवन वितेपछि परिवारसँगै रमाउने कथा बस्तु बोकेको छ ।
नेपाली समाजको हालको अवस्था चित्रण गर्दै रानाले गाएको गीतको सन्देश झै नेपालको राजनीतिमा पनि ७० वर्ष कटेपछि अवसर पाउने र रमाउनेहरुको सङ्ख्या उल्लेख्य छ । ७० कटेपछि राज्यले ज्येष्ठ नागरिकको सम्मान स्वरुप जीवन निर्वाहको लागि बृद्ध भत्ता दिने गर्छ ।
नेपालको राजनीतिमा ७० वर्षपछि अवसर पाउने अर्थात सांसद हुने अवसर पाउनेहरु धेरै छन् । तीन सय ७५ सदस्य रहेको संघीय संसदको प्रतिनिधि सभामा बृद्धभक्ता लिन योग्य सांसदको सख्या डेढ दर्जनको हाराहारीमा रहेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली दुवै ७० वर्ष उमेर पार गरेका सांसद हुन् ।
संघीय संसद सचिवालयको रेकर्ड अनुसार प्रतिनिधि सभाका १७ जना सांसद ७० वर्ष उमेर काटेका छन् । तिमध्ये पनि नेपाली कांग्रेसका ८, नेकपा एमाले र लोसपा तीन÷तीन जना, नेकपा (एकीकृत समाजबादी)का दुई र जनता समाजबादीका एक जना सांसद ७० वर्ष उमेर पार गरेका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गत जेठ ३१ गतेदेखि ७५ वर्ष पार गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा.नारायण खड्का आगामी चैत ७ गतेदेखि ७४ वर्ष पुगिसकेका छन् । समाजबादी चिन्तक सांसद प्रदिप गिरी र सांसद पद्मनारायण चौधरी ७४ वर्ष कटिसकेका छन् ।
कांग्रेसका सांसद तथा पूर्वमन्त्री मानबहादुर विश्वकर्मा गत असारदेखि ७३ वर्ष पुगेका छन् भने सत्यनारायण शर्मा खनाल ७५ वर्ष पार गरिसकेका छन् । कांग्रेसका समानुपातिक सांसद लालकाजी गुरुङ आगामी चैतदेखि ७३ वर्ष पुरा गर्दैछन भने समानुपातिक प्रणालीबाट सांसद भएका धनुषाका स्मृति नारायण चौधरी गत साउनदेखि ७१ वर्ष पुरा गरेका छन् ।
देउवा, खड्का र गिरीवाहेक ५ बृद्ध सांसद सबै समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । कांग्रेसकी मीना पाण्डे र रामबहादुर विष्ट ६९ वर्षका हुन् भने निलम्वित सांसद विजयकुमार गच्छदार, सीताराम मेहता र नागेन्द्रकुमार रायले ६८ वर्ष उमेर पुरा गरेका छन् ।
विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली गत फागुन ११ गते ७० पुरा गरेर ७१ वर्षमा लागेका छन् । एमालेकी समानुपातिक सांसद गोमा देवकोटा जेठदेखि ७० कटिसकेकी छन भने वाँके तीनबाट निर्वाचित एमाले सांसद नन्दालाल रोकाया क्षेत्री गत असोजदेखि ७२ वर्ष पार गरेका छन् ।
एमाले संसदीय दलका उपनेता तथा संविधानसभाका पूर्वअध्यक्ष सुभाषचन्द्र नेम्वाङ यही २८ गते ६९ वर्ष पुरा गरेर ७० वर्षमा प्रवेश गर्ने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का सम्मानीत नेता पूर्वप्रधानमन्त्री तथा सांसद झलनाथ खनाल आगामी चैत ६ गतेदेखि ७२ वर्ष पुरा गरी ७३ वर्ष लाग्ने छन् । नेकपा एसका समानुपातिकि सांसद मुकुन्द न्यौपानेले गत जेठदेखि ७१ वर्ष पार गरिसकेका छन् ।
नेकपा एसका अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालले सोमबार मात्रै ६९ वर्ष पुरा गरी ७० वर्ष लागेका छन् ।
लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर संघीय संसदका दुबै सदनमा सबैभन्दा पाको उमेरका सदस्य हुन् ।
विक्रस संवत् १९९९ जेठ १३ गते जन्मिएका सांसद ठाकुर गत जेठदेखि ७९ वर्ष पुरा गरी ८० वर्षमा टेकेका छन् । ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट २०७४ निर्वाचित भएका थिए ।
लोसपाका सांसद चन्द्रकान्त चौधरी ७४ वर्ष उमेर पुरा गरिसकेका छन् । उनी तत्कालिन राष्ट्रिय जनता पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । लोसपाका लक्ष्मणलाल कर्ण आगामी चैत १५गतेदेखि ७५ वर्ष पुरा गर्दैछन् । उनी पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन् ।
जनता समाजबादी पार्टी (जसपा) नेपालका सांसद विमलप्रसाद श्रीवास्तव गत बैशाखदेखि ७१ वर्ष पुरा गरी ७२ वर्षमा पुरा गरिसकेका छन् ।
राष्ट्रियसभा सदस्यको चार वर्षे कार्यकाल फागुन २१ गते पुरा गरेका निवर्तमान सांसदहरु कांग्रेसकी तारादेवी भट्ट ७३ वर्ष, नेकपा माओबादी केन्द्रका दिनानाथ शर्मा ७२ वर्ष, कांग्रेसका राधेश्याम अधिकारी ७० वर्ष र एमालेका हरिश्चरण शिवाकोटी ७३ वर्ष उमेर काटेका हुन् ।

