सन्दर्भ नारी दिवसः सपनाको `मलिलो माटो´पछि पोखिएको भावना


हातमा परेको लगभग एक हप्तापछि लेखक सपना आचार्यको `मलिलो माटो´ उपन्यास पढे । पढ्न सुरु गरेपछि किताब पढेर कतिखेर सकियो पत्तै भएन । प्रकृति र नारीको पिडालाई अति मार्मिक तरिकाले पस्किएको यो उपन्यासले समग्र नारीको पिडालाई स्पष्ट पारेको छ ।

समसामयिक घटनाहरूको प्रतिनिधित्व गरेको `मलिलो माटो´ मा हाम्रो समाजमा घटिरहेका महिला हिंसाका घटनाहरुलाई म पात्र मन्जुका माध्यमबाट राम्रोसङ्ग चित्रित गरिएको छ ।

एउटा बोल्न मात्रै नसक्ने म पात्रले समाजमा बोल्न सक्ने तर बोल्न नसकेका सबै नारीहरुको प्रतिनिधित्व गरेकी छ्न् । लेखक सपना आचार्यको `मलिलो माटो´ उपन्यास पढदै गर्दा म पात्र बोल्न मात्रै नसक्ने आवाजविहिन मञ्जुको भुमिकाले मलाई धेरै कुराहरु सोच्न बाध्य बनायो । नारी र प्रकृतिलाई दाजेर समग्र नारीहरुको पिडालाई छर्लङ्ग उतारिएको यस उपन्यास पढ्दै गर्दा  मैले पनि भोगेका कुराहरू सम्झिन मन लाग्यो ।

भर्खरै पहिलोपटक महिनावारी भएकी म लाज र खुशी को समय थियो । कति रमाइलो लाग्थ्यो मौसम पनि । अरुलाई कस्ती लाग्थ्यो खै थाहा भएन तर म आफुलाई आफू सारै नै राम्री लाग्थ्यो । म आफुले आफैलाई हेरेर कहिले नअघाउने । मलाई आफू सबैभन्दा राम्री लाग्थ्यो । रहर पनि कति आएको हो । कपाल कोर्न त ठ्याक्कै एक घन्टा लाग्ने ।

एकातिर मिले अर्कोतिर मिल्दैन खै के हो के हो बुझ्नै गाह्रो जसरी पनि आफू राम्री देखिनुपर्यो । खाना खाने समय बरु नहोस् तर सिँगारपटारमा कुनै कमी हुनु भएन । बाहिर हिंड्डुल गर्दा पनि सबैले आफैलाई मात्रै हेरेजस्तो लाग्ने । कसैले राम्री भन्दा मन फुरुङ्ग हुने म कसैले नराम्री भनेको त सुन्ने हिम्मत कहाँ हुनु । कहिलेकाही विरक्त लाग्ने । परिवारका सदस्यहरुले पनि यसो गर यसो नगर भन्दा सारै रिस उठ्ने । मलाई कसैले पनि सिकाएको अझ भनौ अर्ती बुद्धि दिएको त मनै नपर्ने । कहिले खुशीले आकाशमै उडुँजस्तो हुने ।

अब म ठुली भएँ, मलाई सबैकुरा आउँछ । म आफ्नो जीवनको फैसला आफै गर्न सक्छु । म मा कुनै कमजोरी छ्न् जस्तो त कहिले पनि लागेन । यसैबीच कति मान्छेहरु ठोकिन आउँथे । कोही क्वार्क्वार्ती हेर्ने मान्छे नै देख्न नपाएको जस्तो गरि, कोही छुने बहाना गर्ने, यस्तै यस्तै मान्छेहरु गुनासो कसलाई गरुँ ? आफुलाई मननपर्ने व्यवहार गर्नेहरूविरुद्ध बोल्ने हिम्मत म मा हुन्नथ्यो । बोले पनि अप्ठ्यारो आफैलाई पर्ने । यस्तो कुराहरू न कसैसँग खुलेर गर्न सकिन्थ्यो न त त्यसको कुनै प्रतिकार नै ।

यसैबीचमा कोहि यस्तो मान्छे भेटियो जो म भन्दा उमेरमा धेरै ठुलो तर उसको बोल्ने शैली राम्रो थियो । पढेलेखेको हेर्दा आकर्षक व्यक्तित्त्व म उसप्रती कसरी आकर्षित भएँ । ऊ  बाहेक मैले अरू देख्नै छाडे यो के भइरहेको छ ? मलाई नै थाहा थिएन । भन्ने हिम्मत थिएन । आत्मसम्मानको कुरा थियो । मलाई पो यस्तो भो उसलाई त मलाईजस्तो भएको छैन होला । मैले उसलाई आफ्नो मनमा भएको कुरा भनेपछि फेरि आफ्नै नजरमा गिरिने हो कि भन्ने भो हिम्मत आएन । यसरी कहिलेकाही झुलुक्क देख्ने बाहेक अरु कुरा सम्भव नै भएन । आजभोलि जस्तो बेला थिएन । पर्खाइ कै क्रममा कतिखेर २० वर्ष कट्यो पत्तै भएन । जब २० कट्यो पहिलाजस्तो भएन । सबै उसका राम्रा मात्रै कुरा देख्ने आँखाले उसका नराम्रा कुरा पनि देख्न थालेछ । त्यो पागलपन त हटिसकेछ ।

तपाईं पनि आफ्नो १३ देखि १९ वर्षको उमेरमा कस्तो हुनुहुथ्यो सम्झनुहोस है…

अहिले आएर जति सोच्छु उति नै बिरक्त लागेर आउँछ । कस्तो अप्ठ्यारो थियो । त्यो मेरो १३ देखि १९ को उमेर । कसैलाई थाहै भएन ममा के बितिरहेको थियो भन्ने कुरा । सबैको साथमा हुँदा पनि त्यो गाह्रो समय मैले कसैलाई नभनी काटे । अहिलेका नाबालिक किसोरीहरू देख्छु सारै माया लागेर आउँछ  कति असुरक्षित छ्न छोरीहरू । दिनप्रतिदिन घटिरहेको बलात्कार र हिंसाका घटनाहरू । हामीले देख्ने सुन्ने भनेको त समाचारमा आएका कुरा त हुन् । नदेखिएका बाहिर आउन नसकेका घटनाहरुले कति पीडित छ्न होला किसोरीहरु एकछिन सोच्यौ त ! आफुले भोगेको कुरामात्र सम्झेर छोरी चेलीबेटीलाई साथ दिउँ । सहि गलत सिकाउँ । आफुलाई परेको कुरा उनीहरुलाई भन्न सक्ने वातावरण मिलाऊँ । कसैले पनि म हिंसा परेकी छु भन्यो भने साथ सहयोग दिने कि ? उल्टै उसको चरीत्रहत्या गर्ने ?

महिलाका आफ्नै दबिएका पिडा छ्न् घरेलु हिंसाका । त्यसमध्ये पनि दिनप्रतिदिन घटेका बलात्कारका घटना चेलीबेटीहरु जहाँ पनि असुरक्षित । नबोले मरिने बोले समाजले तेरै व्यहोरा त्यस्तै भएर हो भनी झन् सताउने न्याय माग्न जाउँ, इज्जत जाने । केटीको नै केटाको त यो समाजमा जे गरे पनि इज्जत नै इज्जत छ ।

समाचारको हेडलाइन पढनै नसक्ने गरि लेखिएको हुन्छ । समाज कतातिर जाँदैछ बलात्कार भनेको शरीर लुछ्नु मात्रै हो र ? १५ वर्षको उमेरमा कसैको प्रेममा अन्धो भएको मान्छेबाट कुनै गल्ती भयो भन्दैमा तथानाम गाली गर्न पाइन्छ र ? न्याय माग्नु गल्ती हो र ? म अन्यायमा परे भन्नू गल्ती हो ? के हुनुपर्थ्यो ? ऊ इज्जतको डरले ऊ जीउँदै मर्नुपर्थ्यो ?

१३ देखि १९ वर्षको समय भनेको संकटकालिन उमेर हो । यो उमेरमा म हिंसामा परेँ भनेर अदालतको ढोकासम्म धाउनु भनेको कम हिम्मतको कुरा होइन । यसले समाजमा महिला हिंसा गर्न हुदोरहेनछ भन्ने सन्देश समाजमा जान्छ । हाम्रा छोरी चेलीबेटीहरूलाई पनि सुरक्षित राख्न सक्छौ । उनीहरु पनि बोल्न सकुन् ।

हिंसा बलात्कारका कारण कयौं किसोरीहरु मरिसके । कति जिउँदै मरेका छ्न् । न्याय माग्न अदालतको ढोकामा पुगेकालाई समाजले मारेको छ । हामी पनि जुन जटिल अवस्था भोगेका थियौं । पार गरेका थियौ । यो अवस्था नबिर्सी जो जहाँ छौ त्यहीँबाट नै छोरी चेलीबेटीलाई संरक्षण गरौ गलतलाई गलत हो भनी भन्न सिकाऊ । विरोध गर्न सिकाऊ, महिला भएर महिलाको मर्म र पीडा बुझी बोलौं । १५ वर्षकि किसोरीलाई गाली गर्दै ३४ वर्षको पुरुषको वकालत गर्दैछ समाज । जतिसुकै ठूलो पद प्रतिष्ठामा पुगेका व्यक्तिहरूबाट नै महिला हिंसा भैरहेको छ यो कस्तो तरिका हो । एउटी नारीको आत्मसम्मान नै धरापमा राखेर पुरुष खुलेयाम आरामले कसरी हिंड्न सक्छ ? के उसलाई केहि कुराको डर नै नहुने हो कि ?

प्रतिक्रिया