कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च, ३०० डलर पुग्ने रुसको चेतावनी
काठमाडाैँ – रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई) ले १२० प्रति ब्यारलमा कारोबार गरेको छ ।
रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूसविरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो । एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर, पछि १३० डलरभन्दा कममा आइपुग्यो । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।
फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अपरेशन सञ्चालन गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । युद्ध सुरु गरेको भन्दै अमेरिका, युरोपियन देशहरु लगायतका देशहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदा तेलको मूल्यमा वृद्धि भएको हो ।
रुस कच्चा तेल उत्पादनमा विश्वकै तेस्रो ठूलो राष्ट्र रहेको छ । रुसले युद्ध कायमै रहँदा पनि प्रति दिन ७० लाख व्यारल तेल अन्तराष्ट्रिय बजारमा पठाउने गरेको छ । तर अन्य देशहरुले रुसले गर्ने तेल निर्यातमा प्रतिबन्ध लगाउने भनेसँगै तेलको अभाव सिर्जना हुँदा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ ।
यसैबीच , अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको छ । प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएका छन् । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरुले दिएको दबाब रुसी कम्पनीहरुले महसुस गर्न थालिसकेको नोभाकले बताएको छ । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ ।