

आजको संसद् बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने बताइएको छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
बैठकअघि ११ बजेर ३० मिनेटमा संसद भवनमै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ। बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगलाई अगाडि बढाउनेबारे निर्णय गर्ने सत्तारुढ गठबन्धनको तयारी छ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा महाभियोग प्रक्रिया अघि बढ्ने बताए। महाभियोग सिफारिस समिति गठन गर्न कार्यव्यवस्था समितिमा छलफल हुने उनको भनाइ छ।
महाभियोग प्रकरणमा लागेका अभियोग छानविनका लागि संघीय संसद् सचिवालयले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्छ।
न्यायपालिकाको गतिरोधमा संवैधानिक निकास खोज्न भन्दै सत्ता गठबन्धनका ९८ सांसदले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
यद्यपि प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी नेकपा एमालेले भने अवरोध कायमै राख्ने भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताए। एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त, सभामुखको राजीनामा माग्दै आएको छ। राजीनामा नदिए महाभियोग लगाउने चेतावनी पनि दिँदै आएको छ।
एमालेको अवरोधले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगमा कारवाही अगाडि बढ्ने सहज अवस्था पनि छैन।

