

पोखरामा बर्डफ्लु देखिएपछि पशुपक्षी ओसारपसारमा निषेध
पर्वत – कास्कीको पोखरामा महानगरपालिकामा वर्ड फ्लु संक्रमणको पुष्टि भएपछि सो ठाउँ र आसपासमा पशुपक्षी ओसारपसारमा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला वर्ड फ्लु नियन्त्रण कक्ष कास्कीका कन्ट्रोल रुम इन्चार्ज शम्भुराज पाण्डेका अनुसार पोखरा महानगरपालिका-१५ का खुसीमान गुरुङले पालेका हाँस तथा स्थानीय कुखुरा र वडा नं. १७ का खेमबहादुर क्षेत्रीले पालेका स्थानीय जातका कुखुरामा वर्ड फ्लु रहेको पुष्टि भएको हो।
संक्रमण थप फैलिन सक्ने जोखिम रहेका कारण सङ्क्रमण केन्द्रका रूपमा रहेका खोरहरूमा आउँदो चैत २९ गतेसम्म कुनै पनि प्रजातिका पक्षी पालन गर्न र सङ्क्रमित क्षेत्रबाट आउँदो फागुन २७ गतेसम्म कुनै पनि पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसार गर्न निषेध गरिएको हो।
जिल्ला बर्डफ्लु नियन्त्रण कक्षका अनुसार सङ्क्रमणको पुष्टि भएका दुवै क्षेत्रका ३९ घरमा रहेका तीन सय ८१ वटा स्थानीय जातका कुखुरा, १२ वटा हाँस, ५१ वटा बट्टाई, पाँच वटा टर्की, पाँच सय नौ वटा अण्डा, २२ किलोग्राम मासु, तीन सय ३२ किलोग्राम दाना र ३८ सय ५० किलोग्राम सुली नष्ट गरिएको छ।

