लागूऔषधको विवादमा राउतको हत्या, पक्राउ परे दुईजना आरोपी
काठमाडौं – काठमाडौंको बुढानिलकण्ठमा मृत फेला परेका मानबहादुर राउतको हत्या भएको खुलेको छ। हत्यासँगै प्रहरीले दुईजना आरोपीलाई समेत पक्राउ गर्न सफल भएको छ।
फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका राउत बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मंगलबार मृत भेटिएका थिए। टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्दै आएका उनी डेराबाट करिब ३ किलोमिटर पर मृत फेला परेका हुन्।
राउतको हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
लागूऔषधको विषयमा झगडा हुँदा चौधरी र पासवानले मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपीलाई ‘लागूऔषध ल्याइदिन्छु’ भनेर मृतक राउतले पैसा लगेका थिए।
धेरै दिनसम्म लागूऔषध नल्याएको र पैसा पनि फिर्ता नदिएको विषयमा उनीहरुबीच विवाद भएको भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतकको टाउकोमा चोट देखिएको छ। हत्यापछि आरोपीहरु रिह्याव सेन्टरमा गएर लुकेर बसेका थिए।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। राउतको शव भेटिएलगत्तै महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले हत्याको अनुसन्धान थालको थियो।