प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको छ : अध्यक्ष लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरेका छन् । उनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध पनि खल्बल्लिन पुगेको बताए ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको बताए । उनले दलहरुको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको बताए ।

अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे । उनले देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे ।

उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए । राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ ।

बैठकमा अध्यक्ष लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गरेको सचिवालय सम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक भाेलि पनि बस्नेछ प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने उल्लेख गरे । बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया