ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ


तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ का ६० वर्षीय ट्याक्सी चालक घनश्याम सिग्देललाई कुटपिट गरी लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका ३० वर्षीय दुर्गाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई गत शुक्रबार पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित जानकी होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गत बिहीबार परियारले चालकलाई कुटपिट गरी नगद, मोबाइल तथा ट्याक्सी समेत लुटपाट गरी चालकको परिवारलाई फोन गरी फिरौती माग गर्दै आएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

ट्याक्सी रिजर्भ गरी भानु नगरपालिका–१२ ओख्लेस्थित एकान्तस्थानमा लगेर लुटपाट गर्ने उद्देश्यले परियारले ट्याक्सी चालकको टाउकोमा ढुङ्गाले हानेका थिए । प्रहरीले भानु नगरपालिका–६ सिम्पानीस्थित कच्ची सडकमा ट्याक्सी फेला पारेका थियो ।

पक्राउ परेकाविरुद्ध आइतबार तनहुँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग तथा डाँका चोरी मुद्दा शीर्षकमा ६ दिनको म्याद थप भई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया