

१२ वर्षीया बालिकाको बलात्कार पछि हत्या गर्ने ६४ वर्षीय गिरी पक्राउ

विराटनगर – मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या गरेको आरोपमा ६४ वर्षीय दीपक गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले अभियुक्त गिरीले गत बुधबार बालिकाको बलात्कारपछि हत्या गरी ढुंगाले छोपेर शव लुकाएको अवस्थामा भेटिएको जनाएका छन् । प्रहरीले शुक्रबार पक्राउ परेका गिरीलाई आइतबार (आज) सार्वजनिक गरेको हो ।
बुधबार विद्यालयबाट घर फर्किने क्रममा बालिकाको बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि बालिकाको घाँटी थिचेर हत्या गरेका गिरीले उनको कपडा भने घर छेउको खोल्सोमा ल्याएर जलाएका प्रहरीको भनाइ छ ।
गिरीको घर छेउको खरानीको थुप्रोमा फ्रकमा लगाउने खिप, टाँक, जाँते माध्यमिक विद्यालयको पेटी, जुत्ताको सोल र स्क्रिन फुटेको मोबाइल फेला परेको थियो । गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।

