शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो


म्याग्दी – शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ ।

लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । ‘बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन्’, उनले भने, ‘बोल्न र सास फेर्न गाह्रो भएको छ ।’ पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए ।

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्यपरीक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार रातिनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरी बिहान बेनी ल्याएको बताइन् ।

‘बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिनुभएको छ’, उनले भनिन्, ‘सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन ।’ पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् । पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए ।

विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताए । ‘शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो । नवीन सरको पिरियड दिउँसो १२ः१० देखि १२ः५० सम्म हो । राजनले त्यो दिन पूरै कक्षा पढेका थिए । लेखापछिको विषयका सरहरुले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताएका थिए’, उनले भने, ‘आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताए । थप छानबिन र छलफल गर्दैछौ ।’

घटनासम्बन्धमा प्रधानाध्यापक हरिकृष्ण सुवेदीसँग सम्पर्क गर्दा आफु सेवानिवृत्तको प्रक्रियामा रहेकोले आइतबारका लागि बिदा बसेको बताए । उनले घटनाबारे आफूले सुने पनि विस्तृत घटनाविवरण थाहा नभएको बताए ।

प्रतिक्रिया