गठबन्धनको औचित्य सकियो, देउवा–ओली साँझ फेरि भेट्दै


काठमाडौँ – सरकारको नेतृत्व गरेको पाँच दलीय गठबन्धनको औचित्य सकिएको छ। सरकारमा सहभागि नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको औचित्य सकिएको घोषणा गरेको हो।

बिहीबार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले अब गठबन्धनको औचित्य सकिएको घोषणा गरेको हो।

छलफलमा कांग्रेसको तर्फबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा सहभागी थिए।

त्यस्तै एमालेको तर्फबाट केपी शर्मा अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र एमाले उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए।

शीर्ष नेताहरुको छलफलमा सहभागि कांग्रेस महामन्त्री थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या आएको बताए। उनले भने, ‘एमसिसीको विषयमा समाधान धारणा नभएपछि गठबन्धन धरापमा परेको छ।’

संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा एमसीसी पारित गरेर जाने विषयमा ओली–देउवा सहमत भएका छन्। त्यसैले देउवा–ओली पुनः साँझ ७ बजे बालुवाटारमा भेट्ने कार्यक्रमसमेत तय भएको छ।

ओली र देउवाबीच पार्टीमा आन्तरिक छलफल गरेर साँझ फेरि भेटवार्ता हुने भएको हो। साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकमा दुई दलबीच एमसिसी पारित गर्ने र अरु राजनीतिक विषयमा कसरी मिलेर जाने भन्ने ठोस सहमति हुनेछ।

एमालेसँगको छलफल सकारात्मक भएपछि बिहीबार संसदमा एमसीसीमाथि हुने छलफल सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले रोकेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। भेटमा एमसिसी प्रस्ताव केही समय अघि नबढाउन प्रस्ताव गरेका थिए।

प्रतिक्रिया