बानेश्वरमा २४ सय प्रहरी परिचालन, एसपीको कमाण्डमा १४ जना डिएसपी फिल्डमा

एक हजारको संख्यामा सशस्त्र प्रहरी समेत परिचालन


काठमाडौं – बिहीबारबाट एमसीसीमाथि प्रतिनिधिसभामा छलफल हुँदैछ। संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भइसकेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाएका छन्। सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ।

एमसीसी संसदबाट पारित हुन नहुने भन्दै यसको विपक्षमा रहेका दलका कार्यकर्ता विरोधमा छन्। यसअघि आइतबार पनि नयाँ बानेश्वरस्थित स‌ंसद भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

आज पनि प्रदर्शन चर्किन सक्ने अनुमान गरी प्रहरीले काठमाडौंमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। संसद भवनलाई मुख्य सुरक्षा योजनामा पारेर सुरक्षाकर्मी खटिएका छन्।

प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले बानेश्वर क्षेत्रमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट १२ सय प्रहरी परिचालन गरिएको छ।

त्यस्तै महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली फिल्डमा खटिएका छन्।

एसपी मैनालीसँगै १४ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत फिल्डमा परिचालन हुनेछन्। सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरीले गरेका छन्।

यस्तै उक्त क्षेत्रमा एक हजारको संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ।

प्रतिक्रिया