


म्याद गुज्रेको सामान पुनः बजार पठाउने पाउरोटी उद्योगमा प्रहरीको छापा

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले ललितपूरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।
कम्पनीले बजारबाट म्याद गुज्रीरहेका पाउरोटी र कुकिजलाई उठाउने र त्यसैको धुलो बनाएर पुनः कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको उजुरीको आधारमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ । अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटिएको र सवै बस्तुलाई नष्ट गरिएको महाशाखाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । उनले १२० बोरा म्याद गुज्रीएका पाउरोटी र कुकिज फेला पारेको बताए ।
गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएको खुलेको छ । प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।

