एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै


काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । अमेरीकी सहयोग मिलिनियन च्यालेन्ज कर्पौरेसन्स (एमसीसी) बारे चर्को विवाद भएपछि आज (सोमबार) दिउँसो १ बजेका लागि बैठक बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा।बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।

खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए । लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।

प्रतिक्रिया