
अब हेटौंडामा पनि थ्रिडी आर्ट म्युजियम…
हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा थ्रिडी आर्ट म्युजियम खुलेको छ । वनडे थ्रिडी आर्ट वर्ल्ड प्रालिले उपत्यकाबाहिर कै सबैभन्दा पहिलो शाखाको रुपमा हेटौंडामा वन डे थ्रिडी म्यूजियम सञ्चालनमा ल्याएको हो ।
हेटौंडाको शुक्रपथमा रहेको उक्त म्युजियमको हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबोल महत र मानब सेवा आश्रमका वृद्धवृद्धाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा उपमहानगरप्रमुख महतले यस म्युजियमले हेटौंडाको पहिचानमा अर्को गहना थपिएको बताएका छन् । महतले उपत्यकाबाहिर पहिलोपल्ट यस्तो नमूनायोग्य कामका लागि हेटौंडालाई छानेकोमा कम्पनीप्रति धन्यवाद दिँदै आगामी दिनमा उपमहानगरको तर्फबाट आवश्यक पर्ने सहयोगका लागि प्रतिबद्धता समेत व्यक्त गरे । उनले अगाडि भने, ‘बागमती प्रदेशको राजधानी जस्तो शहर हेटौंडाको पहिचानका लागि अर्को गहना थपिएको छ, जसबाट हेटौंडाबासी उपत्यकाबाहिरका लागि प्रमुख गन्तव्य बन्ने विश्वास लिएको छु ।’
उनले भने, ‘साँच्चै राम्रो रहेछ, मैले यसै कार्यक्रममार्फत् हेटौंडाबासीका साथै हेटौंडामा आउने सबैलाई म्युजियम घुम्नका लागि थोरै भए पनि समय छुट्याउन आग्रह गर्दछु ।’
वन डे थ्रीडी आर्ट म्युजियमको मुख्य कार्यालय भने ललितपुरको इमाडोलमा रहेको छ । ललितपुरको इमाडोलमा करिब २ वर्षअघि खुलेको नेपालकै ठूलो र धेरै थ्रीडी आर्टहरु भएको म्युजियमको पहिलो शाखाको रुपमा हेटौंडामा सञ्चालनमा आएको कम्पनीका संस्थापक अध्यक्ष सुन्दर विष्टले बताए ।
म्युजियममार्फत् उपत्यकाबासीलाई थ्रीडी आर्टबारे मनोरञ्जन र जानकारी दिइरहेको वन डे थ्रिडी आर्ट म्युजियमले उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने अभियानमा बागमती प्रदेशको राजधानी हेटौंडालाई चयन गरिएको कम्पनीका सञ्चालक एवं आर्ट संयोजक ओम बहादुर बिश्वकर्माले बताए ।
हेटौंडा शाखाको उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक संचालक नरेश बुढाथोकी, मोहन खड्का, शेखर आचार्यलगायतको उपस्थिीती तथा अन्य सदस्यहरु कृष्ण सुबेदी, राजेश अर्याल र अनिल सुबेदी लगायतको भर्चुअल सहभागीता रहेको थियो ।
हेटौंडाको सेवा विस्तारसँगै कम्पनीले देशका अन्य मुख्य मुख्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना बनाएको संस्थाका संस्थापक अध्यक्ष विष्टले बताए । उक्त अवसरमा निकट भविष्यमा भक्तपुरको राधे–राधेमा पनि म्युजियम सञ्चालनमा ल्याउन लागिएको संस्थापक शेखर आचार्यले बताए ।
कम्पनीले नेपालमा थ्रीडी आर्ट कलालाई पहिचान दिलाउनका लागि राजधानीको कुमारीपाटीमा नेपालकै पहिलो वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ ।



कागजपत्र |
