निजामती कर्मचारीको संरचनालाई चुस्त बनाउनुपर्छ : मुख्यमन्त्री राउत


काठमाडाैं – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजामती कर्मचारीको संरचनालाई चुस्त एवं प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रदेश निजामती सेवा नियमावलीअन्तर्गत दरबन्दी संरचनाबारे शुक्रवार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले धेरै संरचना हुँदा खर्च बढी हुने र अपेक्षाअनुसार परिणाम नदिने भएकाले चुस्तदुरुस्त संरचना बनाएर त्यसमार्फत प्रदेशवासीलाई प्रभावकारी सेवा दिनुपर्ने धारणा व्यक्त गरे ।

छलफल कार्यक्रमले संगठन तथा दरबन्दी संरचनाको विषयमा प्रतिवेदन तयार पारेर ७ दिनभित्रमा मन्त्रिपरिषद्मा पेश गर्न मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव रहेको समितिको निर्माण गरिएको दरबन्दी संरचना निर्माण समितिका सदस्य रुपेश साहले जानकारी दिए ।

मधेश प्रदेशमा ८ जिल्ला रहेका र धेरै अनावश्यक निर्देशनालयस्तरको संरचना खडा गरिएका कारणले प्रदेश सरकारको व्ययभार बढेको भन्दै खर्च घटाउन समितिको निर्माण गरिएको प्रमुख सचिव कृष्ण राउतले जानकारी दिए ।

प्रतिक्रिया