एक्वा हन्ड्रेडकाे पिउने पानी दूषित भेटिएपछि उद्योगविरुद्ध मुद्दा दायर


काठमाडौं – मूल्य र गुणस्तरमा प्रिमियम दाबी गर्ने प्रशोधित पिउने पानी एक्वा हन्ड्रेड प्रयोगशाला परीक्षणमा फेल भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट उत्पादन हुने एक्वा हन्ड्रेड ब्राण्डको पानी प्रयोगशाला परीक्षणमा दूषित पुष्टि भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

उद्योगबाट बजारमा बिक्रीमा पठाइएको पानीको गुणस्तर मानिसको स्वास्थ्यका लागि हानीकारक रहेको पाइएको विभागका प्रवक्ता मोहन कृष्ण जानकारी दिए । ‘मानिसको स्वास्थ्यलाई दीर्घकालिन असर पर्ने दूषित प्यारामिटर एक्वा हन्ड्रेड पानीमा देखियो,’ काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ’ विभागका प्रवक्ता मर्हजनले भने ।

मानव स्वास्थ्यलाई हानिकारक प्यारामिटर भेटिएका कारण उद्योगलाई ५० हजार जरिवाना वा तीन वर्ष कैद तथा दुवै सजाय माग राखी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले चालु आवको ६ महिनामा ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेकोमा ५ वटा पिउने पानीका थिए जसमध्ये एक एक्वा हन्ड्रेड पनि भएको मर्जहनले बताए ।

एक्वाले प्रिमियम ब्राण्ड भन्दै आफ्नो पानी बजारको सामान्य पानी भन्दा झण्डै चार गुणामा बिक्री गर्छ । एक्वा हन्ड्रेड पानीको प्रतिजार मूल्य १३५ रुपैयाँ पर्छ भने जारको धरौटी एक हजार रुपैयाँ छ । यस्तै एक लिटर बोत्तल बन्दको मूल्य ५० रुपैयाँ हाराहारी छ भने आधा लिटरको बोत्तल बन्द पानीको उपभोक्ता मूल्य २७ रुपैयाँमा रहेको कम्पनीले जनाएको छ ।

विभागले एक्वासँगै जय छुमा गणेश शुद्ध पिउने पानी कम्पनी भक्तपुर, एक्वा नेपाल बिल्शेरी प्रशोधित पिउने पानी उद्योग रुपन्देही, एक्वा एक्टिभ वेभरेज विराटनगर विरुद्ध पनि मुद्दा दायार गरेको छ ।

प्रतिक्रिया