

निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम रोक्यो

काठमाडौँ – मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ ।
अहिलेसम्म संकलन गरेको नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।
त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिए । उनले अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गरिने बताए ।

