बाम एकता हुन नदिन कांग्रेसले चुनावी गठबन्धन गर्छः कांग्रेस सचेतक भुषाल


मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सो निर्णय गरेपछि दलहरु स्थानिय तहको निर्वाचनमा जुटेका छन् । ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुने भएपछि सत्तारुढ गठबन्धन चुनावी गठबन्धनमा परिणत गर्ने चाहना गठबन्धनका दलको छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले चुनावी गठबन्धनमा पनि दलहरुबीच सहकार्य गर्नुपर्छ भन्दै नेपाली कांग्रेसलाई दबाद दिँदै आएका छन् । उक्त विषयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालसँग अनलाइनन्यूज७ का संवाददाताले गरेको कुराकानीको सारसंक्षेपः

स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेससँग अन्य दलको चुनावी गठबन्धन हुने सम्भावना कत्तीको छ ?

अहिले सरकारसँग गठबन्धनमा रहेका अन्य दलहरुले गठबन्धन चुनावसम्म जानु पर्छ भनेको छ । मिश्रीत निर्वाचन प्रणालीका बलियो देखिन पनि चुनावी गठबन्धन हुनुपर्छ भन्ने कांग्रेसको पनि मान्यता हो । चुनाव पछि पनि एकै दलको सरकार बन्ने देखिँदैन, त्यसकारण पनि गठबन्धन जरुरी छ । अहिलेको यो गठबन्धन चुनावसम्म जानुपर्छ भन्ने सबै दलको धारणा छ । त्यसको लागि पार्टीभित्र छलफल सुरु भएको छ ।

एक्लै बलियो देखिएको कांग्रेसलाई चुनावी गठबन्धन गरेर जाँदा नोक्सान हुदैन ?

गठबन्धन भयो भने स्थानिय तहको निर्वाचनमा मात्र होईन, भोली केन्द्र र प्रदेसको निर्वाचनमा समेत हुन्छ । गठबन्धनको कारण नै राष्ट्रिय सभामा ६ सिटमा कांग्रेसले ३ मा जितेको हो, यो कुरा त हामीले भुल्नुहुँदैन । आवश्यकता अनुसारको दलिय तालमेल गरेर जानुपर्छ भन्ने हो । यसको लागि पार्टीभित्र मापदण्ड बनाएर जानुपर्छ । गठबन्धनले नेपाली कांग्रेस कमजोर हुँदैन बलियो हुन्छ । यो कसरी भन्नुहुन्छ, भने गठबन्धन हुँदा अन्य दलहरु कमजोर हुन्छन्, त्यसो हुँदा कांग्रेस आफैं बलियो हुन्छ ।

अहिलेको पाँच दलिय गठबन्धन नै चुनावी गठबन्धन बन्ने हो, की कुनै एउटा दलसँग मात्र गठबन्धन हुन्छ ?

त्यो विषयमा पार्टीभित्र छलफल हुन्छ । गठबन्धनको प्रकृति कस्तो हुने ? कुन ठाउँमा गर्ने ? यसको निर्णय गर्ने अधिकार केन्द्रलाई दिने की जिल्लालाई दिने ? त्यो विषयमा छलफल हुन्छ ।

कांग्रेसले गठबन्धन गरेर नै जानु पर्ने बाध्यात्मक परिस्थिती के हो ? प्रतिनिधिसभाको चुवानसम्म सरकारलाई जोगाउनु पर्छ भन्ने हो की अन्य दलहरुबिचको गठबन्धन हुन नदिन हो ?

एउटा त चुनावको निष्पक्षताको कुरा हो । गठबन्धन भयो भने चुनाव सबैको लागि निष्पक्ष हुन्छ । अर्को कुरा भनेको बाम एकता नहोस् भनेर पनि हो । कांग्रेसले बाम एकता हुन दिएन भने कांग्रेस बलियो हुन्छ । अब निर्वाचन पछि बन्ने सत्ता समिकरण पनि कांग्रेस आफ्नै नेतृत्वमा बनाउन चाहन्छ, त्यसैले पनि कांग्रेसको चुनावी एकता राम्रो हुनसक्छ । यो त नेपाली कांग्रेसको लागि अवसर पनि हो नि । यसकारण नेपाली कांग्रेसले गठबन्धन गरेन भने अन्य दलबिच गठबन्धन भएर कांग्रेस कमजोर होला भन्ने डर पनि हो । त्यसैले हामी पनि गठबन्धनको पक्षमा हो ।

प्रतिक्रिया