कतारमा रहेका नेपालीले दूतावासमार्फत विद्युतीय राहदानी लिन सक्ने, यस्ताे छ प्रक्रिया


काठमाडौं – कतारमा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान हुन थालेको छ ।

माघ २३ गतेदेखि दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट प्रक्रिया सफल भएको भन्दै कतारमा रहेका नेपालीले विद्युतीय राहदानीका लागि आवेदन दिन सक्ने पनि दूतावासले जनाएको छ । नेपालबाट गएको मङ्सिरदेखि नै विद्युतीय राहदानी जारी हुन थाले पनि विदेशस्थित नेपाली दूतावासबाट भने पहिलो पटक विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको हो ।

दूतावासले आवश्यक प्रक्रिया पूरा गरी विद्युतीय राहदानीका लागि आवेदन दिनका लागि प्री इनरोलमेन्ट बुकिङ खुला समेत गरेको छ ।

प्रारम्भिक चरणमा केही सिमित बुकिङ मात्र खुला गरिएको भन्दै अहिलेको राहदानीको म्याद सकिएका वा तीन महिनासम्म बाँकी रहेका व्यक्तिलाई मात्र प्री इनरोलमन्ट गरी समय लिन दूतावासले अनुरोध गरेको छ । छिट्टै अर्को सूचना जारी गर्दै थप आवेदनहरू लिने दूतावासको योजना छ ।

माघ २० गतेसम्म एमआरपी पासपोर्टका लागि आवेदन दिएकाहरूले एमआरपी पासपोर्ट नै प्राप्त गर्नेछन् । अहिले एमआरपी पासपोर्ट बनाएकाहरूले म्याद रहँदासम्म एमआरपी पासपोर्टको नै प्रयोग गर्न सक्नेछन् । म्याद नसकिएसम्म विद्युतीय राहदानी बनाउन आवश्यक छैन ।

विद्युतीय राहदानीको लागि आवेदन दिन प्र इनरोलमेन्ट गर्ने तरिका

सबैभन्दा पहिला https://emrtds.nepalpassport.gov.np लिंकमा जानुहोस् ।

पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीवाहकहरूले नयाँ (New) मा क्लिक गर्ने ।

पुरानो एमआरपी  हुनेहरूले नवीकरण (Renewal) मा क्लिक गर्ने ।

राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged) र त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।

त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने । कतारमा आवेदन गर्नेकाे हकमा राष्ट्रिय परिचयपत्र नम्बर राख्न नपर्ने ।

आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, अहिले भएको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै स्क्यान गरी अपलोड गर्ने ।

त्यसपछि Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिङ गर्ने र फाराम submit गर्ने । त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गरेर दूतावासमा आवेदनका लागि जाँदा फाराम पनि लिएर जानुपर्छ ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरूको हकमा यात्रा अनुमति पत्र जारी गरिने दूतावासले जनाएको छ ।

प्री इनरोलमेन्ट गर्दा नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै, अहिलेको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै र अहिलेको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन चाहिन्छ ।

१६ वर्षमुनिका नेपाली बालबालिकाको हकमा बुबा आमाको नागरिकताको प्रमाणपत्र र बुबा आमाको विवाह दर्ताको प्रमाणपत्रका साथै कतारमा जन्मेको बालबालिकाको हकमा त्यहाँबाट जारी जन्म दर्ताको प्रमाणपत्र नेपालमा जन्मेको तर कतारमा बस्ने बालबालिकाको हकमा नाबालक परिचयपत्र पनि आवश्यक हुन्छ ।

प्रतिक्रिया