
परीक्षणबिनै पीसीआर रिपोर्ट!
१० हजारमा विदेश जाने व्यक्तिको रिपोर्ट समेत नेगेटिभ बनाइदिने, चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल हस्ताक्षर!
काठमाडौं – परीक्षणबिनै पीसीआर रिपोर्ट बनाइदिने कार्यमा संलग्न अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ परेका छन्। मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल लिमिटेड र तिनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी तथा विचौलिया रहेका छन्। पक्राउ परेकाहरुको साथबाट नक्कली पीसीआर रिपोर्ट र रसिदका प्याडहरु बरामद भएको छ।
धनुषा घर भई ललितपुर ग्वार्को बस्दै आएका २५ वर्षीय रोशन कुमार छिट्टान, धनुषाकै गौशाला बस्ने २५ वर्षीय नगेन्द्र यादव, काभ्रे घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय माधव मैनाली र सर्लाही घर भई भक्तपुर कौशलटार बस्दै आएका २४ प्रशन्न कुमार झा पक्राउ परेका हुन्।
झा भक्तपुर मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल लिमिटेडका ल्याब प्रबन्धक समेत हुन्। उनीहरुले नेपाल सरकारले तोकेको भन्दा अत्याधिक रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरका अनुसार स्वाबको नमूना समेत नलिई नक्कली पीसीआर सिपोर्ट बनाइदिने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरी छापा मार्दा चारजना पक्राउ परेका हुन्।
स्वाब संकलन गरेर रिपोर्ट तयार पार्न सामान्य प्रक्रिया गर्दा पनि ६ देखि ७ घण्टा लाग्छ। तर, उनीहरुले एक घण्टामै पीसीआर रिपोर्ट दिने गरेको एसएसपी कुँवरले जानकारी दिए। यती छिट्टै रिपोर्ट बनाएर दिने गरेको सूचनापछि शंका लागेर अनुसन्धान शुरु गरेको एसएसपी कुँवरले बताए।

मुख्यगरी उनीहरुले हवाई यातायात प्रयोग गर्नेलाई केन्द्रित गर्ने गरेको पाइएको छ। ‘वैदेशिक रोजगारीमा जानेहरुको फोटो मात्र लिई स्वाब नै नलिई एक घण्टामा रिपोर्ट तयार बनाएर दिने गरेको अुनसन्धानबाट खुलेको छ,’ कुँवरले भने, ‘स्वाब संकलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको पाइएको छ।’
‘कतिपयको स्वाब नै नलिई बनाइदिने र कतिपय नेगेटिभ आएका मान्छेको स्वाब लगेर रिपोर्ट तयार पार्दा रहेछन्,’ एसएसपी कुँवरले भने, ‘१० हजार रुपैयाँ लिएर स्वाब नै अर्कै मान्छेको हालिदिने गरेको समेत पाइएको छ।’
जबकी नेपाल सरकारले प्राइभेट अस्पतालहरुलाई एक हजार ५०० रुपैयाँ पीसीआर रिपोर्टको मूल्य तोकेको छ। त्यसैले अत्याधिक रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहरुमाथि प्रहरीको निगरानी बढिरहेको छ।
सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै विचौलियाहरुले आफैले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नागरिक कम्युनिटी हस्पिटल र कान्तिपुर अस्पतालका ल्याबहरुले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।
‘उक्त ल्याबहरुमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर गरेर रिपोर्ट दिने गरेको अनुसन्धानबाट खुलेको हो,’ कोइरालाले भने, ‘कतिपय पीसीआर पोजेटिभ देखिएका व्यक्तिहरुको ‘सिटी भ्यालु’ समेत तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेका रहेछन्।’
‘उनीहरुले होटल, घरमा पीसीआर रिपोर्ट डेलिभरि गर्ने गरेका रहेछन्,’ एसपी कोइरालाले भने, ‘नाम टिपाएको एकदेखि दुई घण्टामा रिपोर्ट बोकेर उनीहरु होटल वा घरमै पुग्दा रहेछन्।’
प्रहरीले रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिएको छ। थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा दुवै अस्पतालको सेवा हाललाई बन्द गराइएको छ।
यस्तै नागरिक कम्युनिटी हस्पिटलका पीसीआर ल्याब सञ्चालक रौतहट घर भई भक्तपुर दुवाकोट बस्दै आएका ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार रहेका छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।




कागजपत्र |
