एमसीसी पारित गर्ने सहमति भएको छैन, गठबन्धन टुट्दैन : नेता श्रेष्ठ


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रम देउवाले एमसिसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भनेको भन्ने सत्य नभएको र आजको बिन्दुसम्म उनले त्यसो नभनेको दाबी गरेका छन् ।

‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।

नेकपा माओवादी केन्द्रमा श्रेष्ठले एमसीसी अहिलेकै अवस्थामा पारित हुन नहुने अडान राख्दै आएका छन् भने माओवादीले पार्टी बैठकबाटै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा राख्दै आएको छ । स्वयम् अध्यक्ष प्रचण्डले एमसीसी हुबहु पारित हुन नसक्ने बताउँदै आएका छन् ।

उनले आफ्नो पार्टीले गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न दृढ रहेको बताएका छन् ।

प्रतिक्रिया