बैतडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, तीन घाइते


बैतडी – जंगली बँदेलको आक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएका छन् भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दोगडाकेदार गाउँपालिका-१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको छ।

सोमबार साँझ जंगलबाट गाउँपसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका मनोरथसहित स्थानीय बल्देव कार्की‚ वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए। मनोरथको उपचारको क्रममा सोमबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। बलदेवको धनगढीमा उपचार भइरहेको छ। वीरभान र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो केही वर्ष यता जंगली जनावर आतंक मच्चाउन थालेका छन्। जंगली जनावरले बालीनाली नष्ट गर्नुका साथै मानिसमाथिनै आक्रमण गर्न थालेपछि समस्या भएको छ।

प्रतिक्रिया