

महानिरीक्षक क्षेत्रीद्वारा बढुवा भएका २४ प्रहरी अधिकृतलाई दर्ज्यानी प्रदान

काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बढुवा भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् । महानिरीक्षक क्षेत्रीले बढुवा भएका प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हबाट पाउनेमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षकहरु छन् ।
उक्त अवसरमा महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुनुपर्ने उल्लेख गरे । उनले कोभिड–१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै समाजमा हुन सक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्नेमा जोड दिए ।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आ–आफ्नो स्थानबाट निष्ठापूर्वक र ईमान्दारीताका साथ खटिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

