खोटाङमा १४ वर्षीया बालिका गर्भवती, समातिए शिक्षक


काठमाडौं – बालिका बलात्कारको अभियोगमा खोटाङका एक जना शिक्षक समातिएका छन्। रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्।

१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाले पक्राउ गरेको हो।

पोखरेललाई जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाएको छ। ९ भदौयता पटक–पटक बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई समातेको हो।

छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएपछि आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर शाहले बताए।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन्। हिजो जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया