

ठगीको आरोपमा ‘खल्ती’का दुई नक्कली कर्मचारी पक्राउ

काठमाडौं – खल्ती एप्सको कर्मचारी भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले ठगी गरेको आरोपमा पर्सा छिपहरमाई गाउँपालिका—२ का १८ वर्षीय निरञ्जनकुमार गुप्ता र करण यादवलाई प्रहरीले पक्राउ प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
उनीहरूले पीडितहरूलाई मोबाइल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफूहरू खल्ती एप्सको कर्मचारी भएको र खल्तीको खाता नविकरण गर्नुपर्नेबेला भएको भन्दै कुराकानी गर्थे।
साथै नविकरण गर्न फोनमा ओटिपी कोड आउँछ र सो कोड कसैलाई नदिई टिपाउन भन्दै उनीहरूले कोड लिने गरेको प्रहरी उपरीक्षक पंगेनीले बताए। त्यसरी कोड लिएपछि पीडितहरूको खल्ती एप्स चलाएर रकम निकाल्ने गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, पर्सासंग समन्वय गरी गत शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।

