
सर्लाहीमा युवतीको रहस्यमय मृत्यु, दुई महिनाअघि मात्र बिहे भएको थियो
File Photo
काठमाडौं – सर्लाहीमा एक युवतीको रहस्यमय मृत्यु भएको छ। हरिवन नगरपालिका–११ स्थित मालपोत कार्यालय नजिक घर भएकी १९ वर्षीया सञ्चिता गौतम झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
उनको शव गएराति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ। गौतमको गत ५ मंसिरमा मात्रै उनको विवाह भएको थियो।
स्थानीय सुशील दाहालसँग विवाह भएको २ महिना पनि नबित्दै गौतमले ‘आत्महत्या’ गर्नुलाई प्रहरीले शंकास्पद रुपमा लिएको छ। युवतीको शव अहिलेपनि घटनास्थलमै छ।
मृत्युको कारण नखुलेसम्म शव उठाउन नदिने भन्दै स्थानीयले रोकेर राखेका छन्। दाइजोलगायतको विषयमा श्रीमानसहित परिवारका सदस्यले उनलाई मानसिक यातना दिँदै आएको दाबी माइती पक्षको छ।
घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।



कागजपत्र |
