

काठमाडौंमै अन्धविश्वासको जरोः झारफुकको बहानामा त्रिशुलले घोचेर बालिकाको हत्या!
घटनास्थलबाट त्रिशुल बरामद, अघिल्लोदिन बालिकालाई कुटेको स्थानीयले समेत देखेका थिए

काठमाडौं – सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठ पछिल्लो समय छारे रोग (टाउकाको समस्या) बाट ग्रसित थिइन्। सोहीकारण उनको हातखुट्टा कामिरहन्थ्यो।
कतिपयले यसलाई मानसिक रोगका रूपमा लिने गर्छन् भने कतिपयले दैवी शक्ति मानव शरीरमा प्रवेश भएको अर्थमा लिन्छन्। रोशनीको परिवारले पनि यसलाई दैवी शक्ति मानव शरीरमा प्रवेश गरेको भन्ठाने।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ७ धुन्चेपाखा बस्दै आएका उनको परिवारले धामीझाँक्रीमा विश्वास गरेर झारफुक गर्न लैजाने निधो गरे। सोहीक्रममा सम्पर्क गर्दै जाँदा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्की नजिक रहेको झारफुक केन्द्रमा पुगे।
झारफुक केन्द्रको माता थिइन् ४८ वर्षीया उमा शाही ठकुरी। पानीट्याङ्की नजिकै टहरामा बस्दै आएकी माता भनिने ठकुरीले रोशनीलाई निको बनाउने भन्दै झारफुक गर्न थालिन्। रोशनीको आमा राधिकाले ल्याउने–लैजाने गर्थिन्।
सोही क्रममा माता भनिने ठकुरीले आउनजान दुःख भयो, छोरीलाई आफूले निको बनाइदिने भन्दै रोशनीलाई आफ्नो शरणमा छाड्न भनिन्। उपचार हुने आशामा २२ दिन पहिले छोरीलाई त्यही टहरोमा आमा राधिकाले मातालाई जिम्मा लगाइन्।
तर गत शनिबार माताको जिम्मा लगाएकी बालिका रोशनीको मृत्यु भयो। प्रहरीले माता भनिने ठकुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा बालिका रोशनीको कुटपिटबाट मृत्यु भएको खुलेको छ।
झारफुक गर्ने क्रममा माताले बालिका रोशनीलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ। माताको कुटपिटका कारण रोशनी शनिवार बिहान ५ बजे अचेत भइन्। त्यसपछि ती माताले आफन्तलाई फोन गरेर बोलाएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको दाबी छ।
त्यसको अघिल्लो दिन माता भनिने ठकुरीले बालिकालाई मरणासन्ने हुनेगरी पिटेको स्थानीयहरुले देखेका थिए। कहिले टहराभित्र र कहिले टहराबाहिर ल्याएर माताले कुटपिट गरेको देखेपछि स्थानीयले प्रहरी बोलाइदिने धम्की दिएपछि कुट्न छाडेकी थिइन्।
त्यसपछि माताले ती बालिकालाई भित्र लगिन्। मातासँग बस्दै आएका अर्की एकजना बालिकाले समेत रोशनीलाई कुटेको स्थानीयहरुको दाबी छ। भित्र लगेपछि उनीहरु त्यो साँझ बाहिर निस्किएनन्। भोलिपल्ट बिहान पनि माताले झारफुकको बहानामा बालिकालाई कुटिरहिन्।
कुटपिटको क्रममा बालिका बेहोस भइन्। त्यसपछि माता भनिने ठकुरीले त्रिशुलले समेत घोचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ती बालिकाको शरीरभरि निलडाम र चोटहरू देखिएका छन्। माता भनिने ठकुरीले त्रिशूलले घोचेर बालिकाको हत्या गरेको परिवारको आरोप छ।
प्रहरीले घटनास्थलमा त्रिशुल समेत बरामद गरेको छ। बालिकको शरीरमा त्रिशुलले घोचेको प्वालहरु पनि देख्न सकिन्छ। बालिकको मुख र शरीरको विभिन्न भागबाट रगत बगेको फोटोमा देख्न सक्नुहुनेछ।
बालिका रोशनी कक्षा ७ मा अध्ययनरत थिइन्। ती बालिकालाई परिवारले बीचमा परीक्षा आएको भन्दै फोन सम्पर्क गरेर लिन जान खोज्दा माताले अहिले नआउनु भनेर फर्काइदिएकी थिइन्।
धामीको भर पर्दा अनाहकमा भान्जी रोशनीले ज्यान गुमाउनुपरेको मामा धनबहादुर श्रेष्ठले बताए। ‘माताले भान्जीलाई कालो र सेतो भूत लागेको भन्दै कुटपिट गरेको खबर स्थानीयहरुबाट सुनेको छु। यस्तालाई कडाभन्दा कडा कारबाही होस्,’ उनले भने।
झारफुकको लागि माताको छोडेयता छोरीसँग फोनमा कुराकानी भइरहने गरेको आमा राधिकाले बताइन्। तर, छोरीलाई भेट्न गएको थिइनन्। ‘फोनमा कुराकानी हुँदा छोरीले राम्रै रहेको कुरा भन्ने गर्थिन्,’ आमा राधिकाले अनलाइनन्युज७ सँगको कुराकानीमा भनिन्।
‘बिरामी भएपनि हुर्किएकी छोरीको ज्यान गयो,’ आमा राधिकाले भनिन्, ‘धामीको कुरा सुनेर उपचारका लागि अस्पताल लगिनँ। अहिले पछुतो भएको छ। बिरामी छोरीको उपचार गर्न अस्पताल लैजाने सल्लाह दिने कोही नभएपछि धामीको झारफुकमै भर परेपछि हुर्किएकी छोरी गुमाउनु परेको हो।’
अदालतबाट म्याद थप
माता भनिने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।
एसपी मैनालीका अनुसार नेपाल प्रहरी महिला, बालबालिका तथा जेष्ठ नागरिकका हकमा अझ बढी संवेदनशील रहेको छ। घटनाको बारेमा गहन अनुसन्धान गरी ‘पीडितलाई न्याय र पीडकलाई सजायँ’ दिलाउने कार्यमा अहोरात्र खटिईरहने मैनालीले बताए।
धामीझाँक्री, झारफुक जस्ता अन्धबिश्वासमा परी एक नाबालिकाको ज्यानै जानेसम्मको कार्य निन्दनीय रहेको बताउँदै एसपी मैनालीले भने, ‘पछिल्लो समय सम्पूर्ण नागरिक समेत अति संवेदनशील भई यस्ता कार्यहरुलाई नियन्त्रण तथा निषेध गर्न अहोरात्र लागि पर्नुपर्ने टड्कारो समेत देखिन आएको छ।’

