

काठमाडौंको कपनमा लिभिङ टुगेदर बस्ने युवक–युवती मृत फेला

काठमाडौं – काठमाडौं कपनको एक घरमा युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार लिभिङ टुगेदरमा बस्दै आएका संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन् ।
कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो ।
अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् ।

