
बर्थ डे मनाउन गएका युवकको मृत्यु प्रकरणका ६ जना प्रतिबादी धरौटीमा छुटे
दाङ – गत मंसिर १७ गते राति साथीको जन्म दिन मनाउन होटलमा गएका एक युवकको मृत्यु प्रकरणका ६ जना प्रतिबादी धरौटीमा रिहा भएका छन् । युवकको मृत्यु प्रकरणका १६ जना मध्य ६ जना प्रतिबादी धरौटीमा रिहा भएका हुन्।
घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेल जन्मदिन मनाउने क्रममा होटेलको छतबाट खसेर अचेत भइ उपचारका क्रममा गत मंसिरमा मृत्यु भएको थियो ।
उक्त घटना पछि संगै जन्मदिन मनाउने नबीन गिरीलाई एक लाख ५० हजार र अजय न्यौंपाने, नयम गौतम, हिमाल थापा, मनिस सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार धरौटीमा पूर्पक्षका लागि छोड्न दाङ जिल्ला अदालतले आदेश दिएको हो ।
अदालतले आर्यन केसी र बिकाश भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश गरेको छ । त्यस्तै अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पूपक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । जिल्ला अदालतले आइतबार त्यस्तो आदेश दिएको सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।
मुद्दा फैसला हुन बाँकी रहेको र साँक्षी बयान पछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरि पूर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरुलाई अभिभावकको जिम्मा लगाउन आदेश भएको सूचना अधिकारी शर्माले जानकारी दिए । यता, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको भन्दै जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी रहेको धारणा राखे । उनलेसाथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुलेको बताए ।
‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखिएको एसपी काफ्लेले बताए । उनले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही हो।’
उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने बताए ।



कागजपत्र |
