

आफूलाई ‘इन्सपेक्टर’ भनेर चिनाउने सनम प्रहरीको फन्दामा!
सनमसँगै युवती पनि पक्राउ, १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पास लागूऔषध बरामद

काठमाडौं – कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारी रहेका छन्। उनीहरू १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका–१० को दोदापुलबाट शनिबार पक्राउ परेका हुन्।
सनमले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकभित्र राखेको अवस्थामा नाइट्रोभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
सनमले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भनेर चिनाउने गरेको प्रहरी अनुसन्धानबाट समेत खुलेको छ। इन्स्पेक्टरको नाममा सनमले थुप्रै गलत काम गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
उनीहरुमाथि कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

