लुम्बिनीमा एक वर्षदेखि १६ करोडका विद्युतीय गाडी अलपत्र, सरकार रमिते


रुपन्देही – बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ। लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झन्डै एक वर्ष भइसकेको छ।

गाडी सञ्चालनमा नआउँदै मर्मतमा लाखौं रकम सकिएको छ। तर यी गाडी कहाँ, कसले र कसरी चलाउने भन्ने अझै टुंगो लागेको छैन। लुम्बिनी क्षेत्रको प्रदूषण कम गर्न र वातावरणमैत्री साधन सञ्चालन गर्ने योजनासहित यहाँ पाँच वटा ठूला बस र १४ ट्याक्सी भित्र्याइएको हो। १३ करोड लागतका यी साधन भित्र्याउँदा तीन करोड भन्सार बुझाइएको छ।

विद्युतीय यातायातका साधन सञ्चालनका लागि लुम्बिनीमा चार्जिङ स्टेसन तयार छ। साधन नचल्दा स्टेसनसमेत प्रयोग नहुँदै थोत्रिएको छ। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत बस र ट्याक्सी लुम्बिनी भित्र्याइएका हुन्। यी साधन अहिलेसम्म विकास कोषको स्वामित्वमा आएको छैन।

यसअघि लुम्बिनीमा ल्याउने भनिएका बस साझा यातायातले खोसेको भन्दै चर्को आलोचना भएको थियो। तर अहिले लुम्बिनीमै बस आउँदासमेत सञ्चालन गर्ने विषय जटिल बनेको छ। संघीय, प्रदेश र स्थानीय सरकार बस सञ्चालनमा आनाकानी गरिरहेका छन्।‘निजी कम्पनीमार्फत बस सञ्चालन गर्ने मोडालिटी बनिसकेको छ। अब छिट्टै मन्त्रालय हस्तान्तरण गर्ला। अनि सञ्चालन हुन्छन्, लुम्बिनी विकास काेषका प्रमुख सराेज भट्टराई भने ।

अहिले विकास कोषको बसपार्क नजिकै साधनहरू पार्किङ गरिएका छन्। त्यहीं चार्जिङ स्टेसन बनेको छ। जसका लागि सोलार प्लान्ट जडान भएको छ। यहाँ जडान गरिएको सोलार पावरहाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ। चार्जिङ स्टेसनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने बनाइएको छ। अहिले त्यहाँ १४ वटा साना गाडी र पाँचवटा बस रहेका छन्। बसहरू पूर्ण वातानुकूलित र अपांगमैत्री छन्। ढोकाहरू स्वचालित छन्। बसमा १९ र ट्याक्सीमा पाँच सिट छन्। विद्युतीय भएकाले बस र ट्याक्सी आवाजरहित छन्। एक पटक फुलचार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्ने प्राविधिकहरू बताउँछन्।

यी साधन पर्यटक लक्षित छन्। विमानस्थलबाट पर्यटकलाई सिधै लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तु आउजाउमा प्रयोग हुने सूचना अधिकारी डा. राईले बताए। यी साधन सञ्चालनमा आएपछि थप्ने योजनासमेत बनाइएको छ।

प्रतिक्रिया