गृहसचिव पाण्डे मिटिङमा, ‘बडिगार्ड’ टिकटकमा!


काठमाडौं – गृहसचिव टेकनारायण पाण्डेका ‘बडिगार्ड’ छन् नेपाल प्रहरीका नायब निरीक्षक (सई) धर्मराज शाही । पाण्डे गृहसचिवमा नियुक्त भएपछि शक्तिको आडमा शाहीले मन्त्रालयमा बसेर चरम लापरबाही गरेका छन्।

मन्त्रालयमा बसेर शाहीले गृहसचिवको ‘बडिगार्ड’ ले लगाउने ड्रेसमै जथाभावी रुपमा टिकटक बनाएको पाइएको छ। गृहसचिव पाण्डे काम (मिटिङ)मा व्यस्त रहेको मौका छोपेर शाहीले मन्त्रालयको विभिन्न कोठामा पुगेर टिकटक बनाइरहेका हुन्छन्।

टिकटक बनाउँदा पनि किन समाचार बनाउनुपर्यो भन्ने लाग्ला यो न्युज पढ्नेहरुलाई। तर, कुरा त्यस्तो होइन। हो, मान्छेको आफ्नो व्यक्तिगत जीवन हुन्छ। रमाइलो गर्नुपर्छ। शाहीको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न पनि खोजेका होइनौं।

तर, मन्त्रालय टिकटक बनाउने स्थान होइन। मेरो कारण मन्त्रालयका अन्य कर्मचारीलाई असर पर्ला भनेर समेत नसोची शाहीले ठूलो आवाजमा टिकटक भिडिओ बनाइरहने गरेको स्रोतले बतायो। मन्त्रालयमा उनले बनाएको भिडिओ हेर्दा लाग्छ, त्यो कोठाहरु सबै आफ्नै घरको हो।

मन्त्रालयमा बसेर बनाएको टिकटक भिडिओ शाही आफैंले सार्वजनिक गरेका हुन्। ‘dharmarajshahi’ टिकटक आईडीमार्फत सार्वजनिक भिडिओहरु उनले प्रायः मन्त्रालयमै बनाएका छन्। टिकटक आईडीमा कमेन्ट गर्ने ‘अप्सन’ समेत बन्द गरेका छन्।

वाकीटकी सेट टेबलमा राखेर शाहीले टिकटक बनाएको समेत पाइएको छ। जबकी प्रहरी आचारसंहिताअनुसार प्रहरीले प्रयोग गर्ने कुनैपनि सामग्री देखाएर भिडियो अपलोड गर्न पाइन्न। तर, उनले खुलेआम रुपमा वाकीटकी सेट देखाएका छन्।

यस्तै उनी आफैंले ‘हामीलाई माया गर्ने मन्त्रालयको दिदी आउँदा नाचको स्टेप नै बिग्रेको अवस्था’ भन्दै एक टिकटक भिडिओ बनाएर पोष्ट गरेका छन्। उनको यहि स्ट्याटसबाटै पुष्टि हुन्छ कि मन्त्रालयमै बसेर उनले टिकटक बनाइरहेका हुन्छन्।

यसरी टिकटक बनाउँदा सई शाहीले प्रहरी आचारसंहिताको धज्जी उडाएको आरोप छ। ‘गृहसचिवको बडिगार्ड हुँ भन्दैमा मन्त्रालयमै बसेर जथाभावी क्रियाकलाप गर्नहुन्न,’ शाहीकै एकजना ब्याचमेट भन्छन्, ‘हुनतः शक्तिको आडमा टिकटक बनाएको होला। तर यस विषयमा प्रहरी प्रधान कार्यालयले चासो राख्नुपर्छ।’

शाहीले पूर्वयुवराज पारस शाहीले नाचेको एउटा भाइरल गीतमा समेत रक्सी खाएर मातेको नक्कल गर्दै टिकटक बनाएका छन्। एकजना प्रहरी कर्मचारी काम गरिरहँदा शाही टिकटक बनाउन व्यस्त भइरहेको समेत टिकटकमा देख्न सकिन्छ।

पाण्डे गृहसचिवमा नियुक्त भएपछि शाहीले शक्तिको दुरुपयोग गर्दै आइरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार उनले आफुभन्दा सिनियर प्रहरी अफिसरलाई समेत टेर्दैनन्। ‘उसको घमण्डीको त कुरै नगरौं,’ शाहीका ती ब्याचमेटले भने।

सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा देश र जनताको सेवामा खटिनुपर्ने सई शाही जथाभाबी रुपमा टिकटकमा रमाउन थालेपछि सर्वसाधारणहरुले प्रहरीलाई हेर्ने नजर सकारात्मक होला?

यस विषयमा प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले टिकटकको भिडियो हेरेपछि मात्रै आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए।

००००
प्रहरी आचारसंहितामा प्रहरी कर्मचारीले पोशाक, वाकीटकी सेट वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाउन पाइने छैन्। त्यस्तो गतिविधि गरेको पाइएकोमा प्रहरी आचारसंहिताअनुसार कारबाही हुने व्यवस्था छ।

गतवर्ष २२ असोज २०७७ मा प्रहरी प्रधान कार्यालयले चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै कडाई गर्ने भन्दै स्वीकृति नलिकन यस किसिमका कुनै पनि कार्य गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिएको थियो।

प्रदेश २ का एक मन्त्रीको बडीगार्डले नेपाल प्रहरीको वाकीटकी सेटसहित पेस्तोल देखाएर टिकटक बनाएको पाएपछि प्रहरी प्रधान कार्यालयले उनलाई तत्काल कारबाही गरेको थियो। जतिबेला ‘कमलेश यादव६४२२’ नामको टिकटक आईडीबाट पेस्तोल देखाएर बनाइएको टिकटक भिडियो सार्वजनिक भएको हो।

तर, गृहसचिव पाण्डेको बडिगार्ड भएको हुँदा शाहीमाथि कारबाही हुन्छ/हुँदैन त्यो हेर्न बाँकी छ। कुनैपनि प्रहरी कर्मचारीले जथाभावी रुपमा टिकटक बनाउन पाउँदैनन्। नेपाल प्रहरीको बर्दी लगाएको फोटो समेत सामाजिक सञ्जालमा हाल्न नपाउने प्रहरी प्रधान कार्यालयको नीति छ।

उनले लगाएको ड्रेस भिआईपीहरुको बडीगार्डले लगाउने गर्छन्।

यसअघि समाचारमा गृहसचिव टेकनारायण पाण्डेको बडिगार्ड हुनुपर्नेमा गृहमन्त्रीको बडिगार्ड हुन गएकोमा क्षमायाचनासहित पुनः सच्चयाइएको छ। सम्पादक:.

प्रतिक्रिया