बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकार दाङबाट पक्राउ


दाङ – जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पाँच महिना कैद सजाय तोकिएका ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक समेत रहेका पत्रकार दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पत्रकार बुढालाई पक्राउ गरेर सुर्खेत प्रहरी कार्यालयलाई बुझाएको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतको फैसलापछि सुर्खेत प्रहरीले अभियुक्त बुढालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरेपछि जिप्रका दाङबाट खटिएको प्रहरी टोलिले पुस ३ गते नै समातेर अदालत बुझाईएको एसपि काफ्ले जानकारी दिए ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा। राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो। उनले आफ्नो अनलाईनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए।

यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए। बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु।’

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।

संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशनरप्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।

‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ।

सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नुपर्दैन। जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ। उनले आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना पनि गरेका छन्।

राउटे समुदाय गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला युवतिमाथि बलात्कार भएको हो। जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेका थिए।

उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो। युवतिमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ।

प्रतिक्रिया