निर्वाचनबाट काँग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ : विश्वप्रकाश शर्मा


काठमाडौं – नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनबाट काँग्रेस पहिलो शक्तिको रुपमा उदाउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा निवर्तमान पार्टी प्रवक्ता समेत रहेका शर्माले पार्टीको महाधिवेशनका कारण देशभर देखिएको जागरणले आसन्न स्थानीय तहको निर्वाचनबाट काँग्रेस पहिलो शक्ति हुने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले महाधिवेशनको दौरान उत्पन्न विजयी र पराजित मनोविज्ञान तथा भावनालाई समेटेर पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए । उनले आफ्नो जित सम्पूर्ण काँग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिवर्तनको भावना प्रतिबिम्बित भएको बताए ।

महामन्त्री शर्माले प्रेस स्वतन्त्रता सम्बन्धि संविधानले प्रत्याभूत गरेको प्रावधानलाई कुण्ठित हुने गरी आएका र आउने कुनै पनि ऐन नियम स्वीकार नहुने दृढता व्यक्त गरे ।

नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आफू अब फरक भूमिकामा रहने भए पनि प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया