
बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद
काठमाडौं – गत २१ जेठमा राउटे समुदायकी दुई युवती बलात्कारको सिकार भए। सुर्खेत गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला युवतिमाथि बलात्कार भएको थियो।
राउटे समुदायका दुई युवती सामान किन्न गएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेका थिए। उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो।
राउटे युवतीमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुन जेल चलान भइसकेका छन्। जिल्ला अदालत सुर्खेतको फैसलाबाट उनीहरु कारागार चलान भएका हुन्।
बलात्कारको आरोपमा उनीहरु त जेल गए तर, बलात्कृत राउटे युवतीको पहिचान खुलाएउ समाचार प्रकाशन गर्ने एकजना पत्रकार समेत जेल पुगेका छन्। ती पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले एग्गे बहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो।
‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक समेत रहेका बुढामगरको स्थायी घर दाङको तुलसीपुर उपमहानरपालिका–३ हो। उनले आफ्नो अनलाइनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए।
यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए। बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु।’
पीडितको तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै गत १९ असोजमा अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।
संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन÷प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।



कागजपत्र |
