वीरेन्द्रनगरको खानेपानी समस्या हल गर्न भेरीको पानी ल्याइने


दीपेन्द्र शर्मा(रासस)

सुर्खेत–कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ ।  खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसङ्ख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसङ्ख्याका कारण पानीको समस्या छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन ।

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन ।

वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । प्रदेश राजधानीको प्राथमिकतामा भएकाले यो आयोजनामा प्रदेश सरकारको पहिलो लगानी हुने मन्त्री ज्वालाले प्रतिबद्धता बताए ।

सोका लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याइएको उनले जानकारी दिए । आयोजना ठूलो र बृहत भएकाले सङ्घीय सरकारले नेतृत्व लिनुपर्ने ज्वालाले बताए । सङ्घीय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने तथा त्यसका लागि आवश्यक बजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले व्यवस्था गर्ने उनले बताए ।

प्रदेशको मुटुमा रहेको ठूलो तथा बहुप्रतिक्षित खानेपानी आयोजना भएकाले लामो समयका लागि योजना निर्माण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताए । प्रदेश राजधानीको खानेपानी समस्या दीर्घकालीन रुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उनले जानकारी दिए ।

तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उनको भनाइ छ । जलवायु अनुकूलन बृहत खानेपानी आयोजनाअन्तर्गत भएकाले यसमा १० प्रतिशत सहभागिता चाहिने कँडेलले बताए । उनले यहाँको जग्गा, रकमको स्रोतलगायतका काम टुङ्गिएमा तत्काल प्राविधिकले अन्तिम डिजाइनको काम गर्ने जानकारी दिए ।

सङ्घीय सरकारले नेतृत्व गरेको बृहत खानेपानीमा प्रदेश सरकारसँगै नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख देवकुमार सुवेदीले प्रतिबद्धता जनाए । कामको विभाजन गर्दा गर्नुपर्ने कामको जिम्मेवारी लिने भन्दै आवश्यक बजेट, जग्गा प्राप्तिमा सहजीकरणलगायतका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले बताए ।

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रशान्त मल्लले बताए । वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निमार्ण भए २४ वटा स्किम रहने उनले जनाए । वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने उनले बताए ।

अहिले तयार पारेको रिर्पोट अनुसार करिब रु छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग रहेको छ ।

प्रतिक्रिया