हत्याको आरोपमा दमकबाट एक पक्राउ


बनियानी – धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक-२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए ।

उनको उपचारका क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको थियो । यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया