मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प, विप्लवविरुद्ध ‘कडा’ हुँदै सरकार


मोरङ – मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएपछि सरकारले मिक्लाजुङमा संयुक्त सुरक्षाा बेस खडा गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गत साता श्रेष्ठको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस खडा गरेको हो । उक्त बेसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५१ जना सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ ।

आइतबार स्थापना गरिएको संयुक्त बेस क्याम्पमा सशस्त्र प्रहरीको ३६ सुरक्षाकर्मीको नेतृत्व प्रहरी निरीक्षक सुमन बुढाथोकीले गरेका छन् भने १५ नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षक मिलन थापाले गरेका छन् ।

विप्लव समूहको आपराधिक गतिविधि बढेपछि त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै संयुक्त सुरक्षा बेस क्याम्प राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिएका छन् ।

देशभर थप सुरक्षा सतर्कता

नेपाल प्रहरीले बुधबार नै मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।

कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता उच्च बनाउन निर्देशन दिइएको जनाएका छन् ।

शिक्षक हत्याको भोलिपल्ट गत बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

यसबीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एकरएक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ ।

यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विप्लव नेता छुटेलगत्तै पक्राउ

यसैबीच विप्लव नेतृत्वका माओवादीको आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल र जिल्ला सेक्रेटरी सन्जीव नेपाली छुटेलगत्तै पक्राउ परेका छन्। उनीहरु सर्वोच्चको आदेशपछि छुटे लगत्तै प्रहरीले पुनः पक्राउ गरी भक्तपुर लगेको जनाइएको छ ।

प्रतिक्रिया