
दोस्रो चरणमा देउवा भर्सेस कोइराला!
निधि–सिंहले कसलाई सघाउलान्?
काठमाडौं – १४ औँ महाधिवेशनमा नेपाली काँग्रेसको सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेसँगै अब सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।
सभापति चयनको लागि अब दोस्रो चरणमा मतदान हुने भएपछि सभापतिको रेसबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले कसलाई सघाउलान्? यो चासोको विषय बनेको छ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो। यद्यपी निर्वाचनको नयाँ तालिका आइसकेको छैन्।
पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाए। त्यसैगरी कोइरालाले १ हजार ७ सय २९, सिंहले ३७१, निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाए।
नतिजा सार्वजनिकसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच टेलिफोन वार्ता भएको छ। दुई नेताबीच कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने कुराकानी भएको स्रोतले बतायो।
सभापतिको लागि प्रतिस्पर्धामा रहेका देउवा र कोइराला दुवैजनाको ध्यान यतिबेला सिंह र निधितिर छ। देउवालाई समर्थन गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुगिसकेका छन्।
त्यस्तै निधि संस्थापन पक्षबाट सभापतिमा उठेका थिए। त्यसैले संस्थापन समूहका निधिले देउवालाई नै सहयोग गर्ने स्रोतले बतायो।
निधिले पनि आफ्ना नेता/कार्यकर्ताहरुसँग छुट्टै छलफल गरिरहेको बताइएको छ। टेलिफोन वार्तापछि निधि र सिंहबीच छलफलको लागि भेटवार्ता भइरहेको छ। सो छलफलपछि कस्ले कस्लाई समर्थन गर्ने निधो लाग्ने बताइएको छ।
यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए जित हुनेछ। जसमा शेखरलाई दुवैको समर्थन आवश्यक पर्छ।
४७ सय ४३ मतदातामध्ये सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको थियो। त्यो मध्ये ७७ मत बदर भएको पनि जनाइएको छ। यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो।



कागजपत्र |
